काठमाडौँ । नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन र कार्यक्षमता वृद्धि गर्ने उद्देश्यसहित निर्देशकहरूको जिम्मेवारी पुनःवितरण गरेको छ। पाँच जना निर्देशकको विभागीय जिम्मेवारीमा हेरफेर गरिएको हो।
प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसका आधारमा नयाँ कार्यविभाजन लागू गरेकी हुन्। नयाँ व्यवस्था अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, तथा पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। उनीहरू यसअघि क्रमशः व्यवस्थापन र अनुसन्धान विभागमा कार्यरत थिए। त्यसैगरी, ध्रुव तिमिल्सिनालाई अनुसन्धान महाशाखा, कमलप्रसाद रेग्मीलाई नियमन महाशाखा, र शम्भराज लामिछानेलाई कानुन महाशाखाको जिम्मेवारी दिइएको छ।