काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने र अदालतबाट सजाय ठहर भई फरार रहेका व्यक्तिहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै कारबाहीका क्रममा चार जनालाई नियन्त्रणमा लिएको हो।
वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहर भई फरार रहेकी ४६ वर्षीया रोशना चापागाईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। धादिङ धुनिवेशी नगरपालिका–९ घर भई हाल भक्तपुरको कमेरोटार बस्ने चापागाईलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०८१ वैशाख ३० गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ।
आकर्षक तलबको प्रलोभन देखाई न्यूजिल्याण्ड, क्यानडा र अजरबैजान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई पनि प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ३१ वर्ष शक्ति राई पक्राउ गरेको हो उनले एक जनालाई न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ लाख ९५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको हो।
त्यस्तै, प्रहरीले सिन्धुपाल्चोककी ३९ वर्षकी बिमला दोङलाई पक्राउ गरेको जनाएको छ । उनले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १३ लाख ६० हजार रुपैयाँ ठगी गरेको हो । उनलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो। त्यस्तै, क्यानडा पठाइदिन्छु भन्दै २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका ३१ ब्र्षका रोशन तामाङलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको हो।
पक्राउ परेका यी तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।