काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनाराका अव्यवस्थित बस्तीबाट स्थानान्तरण गरी राधास्वामी सत्संग व्यास आश्रममा राखिएका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिएको छ। महानगरको शिक्षा विभागले अभिभावक र विद्यार्थीसँगको आवश्यक परामर्शपछि आजदेखि ५२ जना बालबालिकालाई विद्यालय पठाउन लागेको हो।
महानगरपालिकाका अनुसार ती बालबालिकाहरूलाई आश्रमबाट पैदल दूरीमै रहेको वडा नं. १४ स्थित जन विकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। होल्डिङ सेन्टरमा हाल थापाथली, गैरीगाउँ र सिनामंगल लगायतका क्षेत्रबाट ल्याइएका ६६ परिवारका २०३ जना बसोबास गरिरहेका छन्। जसमा ६१ जना बालबालिकाहरूमध्ये विद्यालय उमेरका ५२ जनालाई तत्काल विद्यालयको पहुँचमा ल्याइएको हो।
यसै शैक्षिक सत्रमा एसईई दिएका ४ जना विद्यार्थीका लागि भने महानगरले उनीहरूको रुचि अनुसार कम्प्युटर र सिलाइ–बुनाइ जस्ता सिपमूलक तालिमको व्यवस्था गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभयो। यस्तै, ३० जना बालबालिकाका अभिभावकले आफ्ना नानीबाबुलाई आवास सुविधासहितको छात्राबासमा राखेर पढाउन इच्छा व्यक्त गरेका छन्। जसमा ११ छात्रा र १९ छात्र रहेका छन्।
महानगरपालिकाले छात्राबासका लागि प्याब्सन, एनप्याब्सन र हिसानसँग समन्वय गरिरहेको छ। १० वर्ष माथिका योग्य बालबालिकालाई निजी तथा संस्थागत विद्यालयहरूमा निःशुल्क आवाससहितको शिक्षा उपलब्ध गराउन महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले पहल गर्नुभएको हो। महानगरको यस आग्रहलाई स्वीकार गर्दै निजी शैक्षिक संस्थाहरूले पनि वास्तविक सुकुम्बासीका बालबालिकाको भविष्यप्रति उत्तरदायी रहँदै सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यार्थीहरूलाई आवश्यक पर्ने विद्यालय पोसाक र शैक्षिक सामग्रीको प्रबन्ध समेत महानगरले मिलाउने तयारी गरेको छ।