काठमाडौँ । पुनर्निर्माण कार्यमा सरकार उदासीन रहेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरूले सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी टहरामै जीवन बिताउन बाध्य भएको उनीहरूको गुनासो छ।
२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा ठूलो जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १५० भन्दा बढीको ज्यान गएको र हजारौं घरधुरी प्रभावित भएको थियो। तर भूकम्पपछिको पुनर्स्थापना तथा पुनर्निर्माण कार्य अपेक्षित गतिमा अघि नबढेको भन्दै पीडितहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार अझै पनि धेरै परिवार टिनको छानामुनि कठिन जीवन बिताइरहेका छन्।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारलाई दबाब दिनका लागि आन्दोलन गरिएको उनीहरूले बताएका छन्। पीडितहरूले राहत र अनुदान वितरणमा ढिलाइ भएको भन्दै त्यसलाई छिटो गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले ११ बुँदे मागपत्रसमेत सार्वजनिक गर्दै क्षति विवरण पुनः मूल्याङ्कन, लाभग्राहीलाई तत्काल अनुदान, भूकम्प प्रतिरोधी घर निर्माण, तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया तुरुन्त अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।