काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान प्रक्रिया सुरु गरिएको हो।
महासंघको विभिन्न पदका लागि कुल ७३ पदाधिकारी छनोट गर्नुपर्ने भए पनि १३७ जना व्यवसायीले उम्मेदवारी दिएका छन्। जिल्ला–नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा भइरहेको छ। वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन भने छुट्टै रूपमा हुने व्यवस्था गरिएको छ। जिल्ला/नगर उपाध्यक्षका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् भने वस्तुगत र एसोसिएट उपाध्यक्ष पदका लागि दुई–दुई जनाबीच प्रतिस्पर्धा भइरहेको छ। विभिन्न पदमा व्यवसायीहरूले प्यानल बनाएर चुनावी अभियानलाई तीव्र बनाएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने चर्चा छ। निर्वाचनपछि महासंघ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ।