काठमाडौँ । जनमत पार्टीको मधेस प्रदेशमा आन्तरिक विवाद देखिएको छ। प्रदेश सरकारमा एक जना अर्थमन्त्री र एक जना खेलकुद तथा समाज कल्याण मन्त्रीसहित प्रतिनिधित्व रहेको पार्टी अहिले दुई पक्षमा विभाजित देखिएको छ।
सोमबार पार्टीका सचेतक चन्दन सिंहले १० जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए। तर प्रदेश प्रमुख कार्यालयले हालसम्म त्यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन। त्यसैबीच, जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता तथा अर्थमन्त्री महेश प्रसाद यादवले भने सरकारप्रतिको समर्थन यथावत् रहेको स्पष्ट पारेका छन्। उनले आफू दलको आधिकारिक नेता रहेको र आफ्नो जानकारी तथा सहभागिता बिना भएका बैठक वा निर्णयहरू मान्य नहुने बताएका छन्। उनका अनुसार मुख्यमन्त्री कृष्णा प्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई जनमत पार्टीको आधिकारिक समर्थन निरन्तर रहेको छ। जनमत पार्टीका कुल १३ प्रदेश सभा सदस्यमध्ये बबिता इशर राउत उपसभामुख पदमा छन् भने पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले यसअघि नै राजीनामा दिई छुट्टै पार्टी गठन गरिसकेका छन्।