काठमाडौँ । आज (मंगलबार) संघीय संसदअन्तर्गतका तीनवटा संसदीय समितिहरूको बैठक बस्न लागेको छ।
आज बस्ने बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति समावेश छन्। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ। उक्त बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेका कार्यसम्पादन तथा आगामी योजनाबारे छलफल हुनुका साथै अन्य समसामयिक विषयमा पनि विचार–विमर्श गरिनेछ।
यसैगरी, राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०ः४५ बजे सभापतिको कार्यकक्षमा आयोजना हुनेछ। बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्ने तय भएको छ। सो बैठकमा गण्डकी प्रदेशमा गरिएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्ने एजेण्डा रहेको छ।