काठमाडौँ । नेपाली भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारत सरकारको कदमविरुद्ध माईतिघरमा विरोध प्रदर्शन भएको छ। संयुक्त विद्यार्थी संगठनले भारतको यस कदमलाई सीमा अतिक्रमण र हस्तक्षेप भन्दै सडकमा उत्रिएर विरोध जनाएका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले लिपुलेक हाम्रो हो’, ’राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’, ’सीमा अतिक्रमण बन्द गर’ र ’भारतीय हस्तक्षेप बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
यस विषयमा नेपाल सरकारले पनि गम्भीर चासो देखाउँदै कुटनीतिक नोट जारी गरिसकेको छ। परराष्ट्र मन्त्रालयले उक्त भू–भाग नेपालकै रहेको प्रतिबद्धता जनाउँदै सो क्षेत्रमा कुनै पनि गतिविधि नगर्न छिमेकी राष्ट्रहरू भारत र चीन दुवैलाई आग्रह गरेको छ।
यता भारतले भने मानसरोवर जाने बाटोको विषय पुरानै भएको दाबी गर्दै नेपालको कुटनीतिक नोटको जवाफ फर्काएको छ। लिपुलेक क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद कायम रहेको छ।