काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार नआउनुको मुख्य कारण दीर्घकालीन सोचको कमी र राजनीतिक अस्थिरता भएको बताएका छन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्ला वर्षहरूमा बारम्बार सरकार र गठबन्धन परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर बनेको उल्लेख गरे । उनका अनुसार प्रत्येक सरकारसँगै नीति र प्राथमिकता फेरिँदा राम्रो नीति पनि कार्यान्वयनमा प्रभावकारी बन्न नसकेको छ । श्रेष्ठले अल्पकालीन लाभका लागि गरिएका निर्णयले दीर्घकालीन रूपमा अर्थतन्त्रमा असर परेको बताउँदै अहिलेको अवस्थालाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे । स्थिर सरकार बनेमा नीतिगत स्थिरता आउने र सुधारको बाटो खुल्ने उनको विश्वास छ । उनले निजी क्षेत्रले अर्थतन्त्रको ठूलो हिस्सा चलायमान बनाउँदै आएको उल्लेख गर्दै सरकारसँग सहकार्य आवश्यक रहेको बताए । “सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गर्नुपर्छ,” उनले भने ।
आगामी तीन वर्षका लागि पाँच प्राथमिकता सार्वजनिक गर्दै उनले नीति निर्माण, बजेट, कानुन र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, निजी क्षेत्रप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न अभियान सञ्चालन गरिने बताए । निजी सम्पत्ति र लगानीको सुरक्षा, व्यावसायिक विवाद समाधान प्रणाली सुदृढीकरण तथा स्वदेशी–विदेशी लगानी प्रवर्द्धनका लागि सरकारसँग निरन्तर संवाद गरिने उनले जानकारी दिए । श्रेष्ठले महासंघलाई देशभर प्रभावकारी बनाउने, संस्थागत क्षमता बढाउने र सेवामुखी संरचना विकास गर्ने योजना पनि अघि सारे । उनका अनुसार तत्काल राहतसँगै दीर्घकालीन संरचनागत सुधार आवश्यक छ, जसका लागि विभिन्न पहलहरू समेटिएको कार्ययोजना तयार भइसकेको छ । उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको आर्थिक रूपान्तरण संयुक्त प्रयासबाट मात्रै सम्भव हुने बताए ।