काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय भूमिका अनिवार्य रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रमैत्री नीति निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि रणनीति अघि बढाइसकेको छ ।
अर्थमन्त्री वाग्लेले आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि जस्ता क्षेत्रमा निजी क्षेत्र प्रमुख साझेदार भएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार सरकारले झन्डै सात वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब डलरको स्तरमा पुर्याउने लक्ष्य राखेको छ, जसका लागि निजी क्षेत्रको भूमिका निर्णायक रहनेछ । सरकारले ल्याउन लागेको ‘निजी क्षेत्रको संरक्षण र प्रवर्द्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा सुधार गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ ।