काठमाडौँ। लगातार वर्षापछि रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज (सोमबार) बिहान काभ्रेको कुषादेवी क्षेत्रमा परेको अविरल वर्षाका कारण रोशी खोलामा बाढी आएपछि सडक तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सवारी आवागमन रोकिएको हो । खोलाको बहाव सामान्य नभएसम्म सडक सञ्चालन नगर्ने निर्णय गरिएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । साथै, थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न सकिने बताइएको छ । यसअघि पनि रोशी खोलामा आउने बाढीका कारण बिपी राजमार्गमा पटक–पटक अवरोध हुँदै आएको छ ।