काठमाडौँ । अभिनेता पल शाहको मुख्य भूमिका रहने चलचित्र ‘आ बाट आमा २’ को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान पाटनस्थित बंगलामुखी मन्दिरमा निर्माण टिमले फिल्मको स्क्रिप्ट पूजा गर्दै मुहूर्त कार्य सम्पन्न गरेको हो।
यो चलचित्र गत वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’ को सिक्वेल हो। फिल्ममा अघिल्लो भागका कलाकारहरू विपना थापा, पल शाह, प्रदीप रावत र गजित विष्टले निरन्तरता पाएका छन्। यसपटक फिल्ममा आकाश श्रेष्ठ र नरेन खड्का पनि नयाँ सदस्यका रूपमा जोडिएका छन्। अभिनेत्रीहरू भने अझै छनोट हुन बाँकी रहेको र केही दिनमा सम्पूर्ण कलाकारको टुङ्गो लाग्ने निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।
निर्देशक पन्तका अनुसार फिल्मको छायाङ्कन तालिका केही दिनमा सार्वजनिक गरिनेछ। अहिले प्राविधिक पक्ष र बाँकी कलाकार छनोटको काम तीव्र गतिमा भइरहेको छ। निर्माण पक्षले यो चलचित्र आगामी दसैँमा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।
फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन्। आर्या इन्टरटेन्मेन्ट प्रा.ली. को ब्यानरमा निर्माण हुने यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले प्राप्त गरेको छ। फिल्मको निर्माण व्यवस्थापन करणसिंह रसालीले सम्हालिरहेका छन्।