काठमाडौँ । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘कुस्ती’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । काठमाडौँ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाहअनुसार असोजमा प्रदर्शन गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।
उनका अनुसार फिल्म प्रेम, हास्य र भावनात्मक द्वन्द्वले भरिएको कथामा आधारित छ, जसले एकअर्कासँग छुट्टिन पनि नसक्ने तर सँगै रहन पनि कठिन हुने सम्बन्धको यात्रालाई प्रस्तुत गर्छ । फिल्ममा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत दिकिला शेर्पाले नेपाली चलचित्रमा डेब्यु गरेकी छन् । उनी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र रियालिटी शोमार्फत पनि परिचित छिन् ।
निर्देशक योञ्जनका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारका विषयमा पनि छलफल भइरहेको छ र केही देशमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ । फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको सङ्गीत, साथै शिशिर खातीको नृत्य निर्देशन रहेको छ । डिजिटल वितरण ओएसआर डिजिटलमार्फत हुनेछ भने काठमाडौँ र मोफसलमा विभिन्न वितरण कम्पनीमार्फत प्रदर्शन गरिनेछ ।