काठमाडौँ । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन्। पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएपछि यहाँका स्थानीयहरू आन्दोलित बनेका हुन्। महानगरपालिकाको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गर्दै जग्गा खाली गर्न निर्देशन दिएको थियो।
पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्था बिना स्थान खाली नगर्ने स्पष्ट अडान लिएका छन्। उनीहरूले सरकारले उचित व्यवस्थापन गरेपछि मात्रै डोजर चलाउन माग गरेका छन्। हालै गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, जिल्ला समिति कास्की’ ले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकारले उचित पुनःस्थापना गरेमा मात्रै बस्ती खाली गर्न तयार रहेको जनाएको छ।
समितिले आफ्नो माग सम्बोधनका लागि आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। जसअनुसार वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा ¥यालीसहित कोणसभा गर्ने योजना रहेको छ। वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने उनीहरूको अडान छ।
इतिहास अनुसार, पोखरा–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसयता उक्त क्षेत्रमा सुकुम्बासीहरू बसोबास गर्दै आएका हुन्। पोखरा नगर योजना (वि.सं. २०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं. २०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा मात्र सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।