वीरगञ्ज - वीरगञ्जमा सडक विस्तारका नाममा सरकारले विध्वंस मच्चाएको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उद्योगी विमल केडियाले सरकारले “विकासको नाममा विध्वंस” मच्चाएको भन्दै कडा आपत्ति जनाएका छन्।
उनले वीरगञ्जवासीमाथि ठूलो अन्याय भएको उल्लेख गर्दै डोजर आतंक तुरुन्त रोक्न आग्रह गरेका छन्। “हामी हरेक दिन विधिको शासन र कानुनी राज्यको कुरा गर्छौं, तर वीरगञ्जमा डोजर चलाउँदा कुन प्रक्रिया अपनाइयो?” उनले प्रश्न गरे। उद्योगी केडियाले यसमा षड्यन्त्रको आशंका समेत व्यक्त गरे।
वीरगञ्जको मुख्य बजार क्षेत्रमा गरिएको संरचना हटाउने कार्यप्रति असन्तुष्टि जनाउँदै उद्योगी केडियाले ऐतिहासिक शहरलाई तोडफोड गरेर विकास सम्भव नहुने धारणा राखे। “ऐतिहासिक शहरलाई तोडेर विध्वंस मच्चाएर, विनाश मच्चाएर कहीं पनि विकास हुँदैन,” उद्योगी केडियाले भने– ‘‘वीरगञ्जवासीमाथि ठूलो वज्रपात, अन्याय भएको छ।”

उनका अनुसार विगतदेखि नै काठमाडौं केन्द्रित सोचले अन्य शहरहरूलाई उपेक्षा गर्ने प्रवृत्ति देखिएको थियो, र अहिले पनि त्यही मानसिकता दोहोरिएको संकेत देखिन्छ। “विगतमा भनिन्थ्यो– काठमाडौं बाहेक अरू नेपाल होइन,” उद्योगी केडियाले भने– ‘‘के अहिले पनि त्यही हो?”
यसैबीच, वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति र वीरगञ्ज बचाऔं संघर्ष समितिले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा पनि सडक विस्तारको नाममा गरिएको कार्यप्रति गम्भीर आपत्ति जनाइएको छ। विज्ञप्तिमा नारायणी क्षेत्रअन्तर्गत वीरगञ्ज बजार क्षेत्रमा सडकको एलाइन्मेन्ट परिवर्तन गरी इन्टरसेक्सन नजिकैको बहुअरी क्षेत्रमा ‘इन्टिग्रेटेड चेक पोस्ट’ निर्माण गर्ने निर्णयपछि प्रभावित क्षेत्रका घर तथा व्यवसाय हटाइएको उल्लेख छ।
समितिका अनुसार, करिब २०० वर्ष पुरानो बस्ती र १५० भन्दा बढी व्यवसाय प्रभावित हुने गरी बिना स्पष्ट प्रक्रिया डोजर प्रयोग गरिएको आरोप लगाइएको छ। यसले स्थानीयको मानव अधिकार हनन भएको दाबी गर्दै पीडितहरूलाई क्षतिपूर्ति, वैकल्पिक व्यवस्था र निर्णय पुनरावलोकन गर्न सरकारसँग माग गरिएको छ।
त्यसैगरी, सम्बन्धित निकायलाई वार्तामा बोलाई समाधान खोज्न आग्रह गर्दै पीडित पक्षले आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।


