काठमाडौँ। हर्मुज जलमार्गमा अमेरिकी गतिविधिप्रति इरानले कडा आपत्ति जनाएको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् ।
अजिजीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै फारसको खाडी र हर्मुज जलमार्गको व्यवस्थापन अमेरिका वा कुनै बाह्य शक्तिले गर्न नसक्ने स्पष्ट पारेका छन् । उनले अमेरिकी योजना र हस्तक्षेपलाई अस्वीकार्य भन्दै त्यसले क्षेत्रीय तनाव बढाउने चेतावनी दिएका छन् । यसअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने योजना सार्वजनिक गरेका थिए । उनले विभिन्न देशले आफ्ना जहाज सञ्चालनका लागि अमेरिका समक्ष सहयोग मागेको दाबी गर्दै योजना सोमबारदेखि लागू हुने बताएका थिए । ट्रम्पले उक्त मानवीय प्रयासमा कुनै अवरोध भए कडा प्रतिकार गर्ने चेतावनीसमेत दिएका थिए । त्यसैको जवाफस्वरूप इरानले हर्मुज क्षेत्रमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट सन्देश दिएको हो ।