काठमाडौँ । निर्वासनमा रहेका तिब्बती पत्रकारहरूको संस्था तिब्बती पत्रकार संघ (एटीजे) ले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।
‘हामी हाम्रो भाषाका संरक्षक हौँ, तिब्बती भाषा सिकौं, प्रयोग गरौं र प्रवर्द्धन गरौं’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो। तिब्बती डायस्पोराको राजधानीमा आयोजित कार्यक्रममा पत्रकार तथा मिडियाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा तिब्बती आध्यात्मिक नेता दलाई लामाले तिब्बती भाषाको संरक्षणका लागि हालै गर्नुभएको अपीललाई प्रेरणाको स्रोतका रूपमा लिइएको जनाइएको छ।
एटीजेका अध्यक्ष केल्साङ जिनपाले निर्वासनमा रहे पनि तिब्बती समुदायले प्रेस स्वतन्त्रता दिवसलाई निरन्तर मनाउँदै आएको उल्लेख गर्दै स्वतन्त्रता, समानता, न्याय र मानव अधिकारको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। संस्थाले हालै एक विज्ञप्ति जारी गर्दै ११ औं पञ्चेन लामा सहित सबै तिब्बती राजनीतिक बन्दीहरूको बिना शर्त रिहाइ र उनीहरूको अवस्थाबारे पारदर्शिता हुनुपर्ने मागसमेत अघि सारेको छ। तिब्बती पत्रकार संघ सन् १९९७ मा धर्मशालामा निर्वासनमा रहेका पत्रकारहरूको समूहद्वारा स्थापना गरिएको स्वतन्त्र तथा गैरनाफामूलक संस्था हो।