काठमाडौँ । काठमाडौँ उपत्यकामा नदी किनार तथा सरकारी–सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रका अनधिकृत संरचना धमाधम हटाइएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत स्थानमा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य जारी छ। त्यस्तै धोबीखोला कोरिडोर, विष्णुमति नदी किनार तथा अन्य क्षेत्रका अतिक्रमित संरचनासमेत हटाउने काम भइरहेको छ। हालसम्म उपत्यकाभर करिब दुई हजार तीन सयभन्दा बढी संरचना हटाइसकिएको जनाइएको छ। काठमाडौँ महानगर प्रहरी बलका अनुसार आज मात्रै विभिन्न क्षेत्रमा दर्जनौँ संरचना हटाइँदै छन्। प्रभावित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान गर्दै दीर्घकालीन व्यवस्थापन गर्ने तयारी गरिरहेको छ। अभिलेख मिलान र तथ्याङ्क रुजु गर्ने कामसमेत अघि बढाइएको छ।