काठमडौँ । शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्ती हटाउने तथा स्थानान्तरण गर्ने क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
आइतबार जारी विज्ञप्तिमा सहायता आवश्यक परेका तथा हाल सडकमा अलपत्र परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा पुगेर नाम दर्ता गराउन आग्रह गरिएको छ। मन्त्रालयका अनुसार वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल अभिलेख संकलन गरी होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गरिनेछ। ती केन्द्रहरूमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोसामाजिक परामर्शलगायत आधारभूत सुविधा उपलब्ध गराइने बताइएको छ। विशेषगरी वास्तविक भूमिहीन तथा आर्थिक अवस्था कमजोर भई आफैं व्यवस्थापन गर्न नसक्ने नागरिकलाई दशरथ रंगशालास्थित दर्ता केन्द्रमा उपस्थित भई सरकारले उपलब्ध गराउने सेवा सुविधा उपयोग गर्न आग्रह गरिएको छ। सरकारले नागरिकहरूको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनर्स्थापनाका लागि पूर्ण प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।