काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भन्ने कामना गरेका छन् । स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै त्यस्तो कामना गरेका हुन् । हरेक वर्ष मे ३ लाई विश्वभर प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइन्छ । यसैबिच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकार वा सञ्चारकर्मीको अधिकार मात्र नभई सत्य जान्ने, विचार अभिव्यक्त गर्ने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको उल्लेख गरे । उनले पछिल्लो समय सञ्चार माध्यमहरू मुद्रित र प्रसारणमा मात्र सीमित नरही सामाजिक सञ्जालमार्फत सूचना प्रवाह तीव्र भएको बताए । एल्गोरिदमको प्रभावका कारण सत्य समाचार ओझेलमा पर्ने र भ्रामक सामग्री अगाडि आउने चुनौती पनि थपिएको उनको भनाइ छ ।