काठमाडौँ । आज विश्वभर विभिन्न कार्यक्रमका साथ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । नेपालमा पनि सञ्चार संस्था, पत्रकार संगठन तथा विभिन्न निकायहरूले विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदैछन् ।
हरेक वर्ष मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ। स्वतन्त्र, निष्पक्ष र बहुलवादी प्रेसको महत्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने परम्परा रहेको छ। सन् १९९३ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा आयोजित युनेस्को समर्थित सम्मेलनबाट ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरिएको दिनको स्मरणमा यो दिवस सुरु गरिएको हो। उक्त घोषणापत्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको संरक्षणलाई लोकतन्त्रको आधारका रूपमा जोड दिइएको थियो। त्यसयता विश्वभर प्रेस स्वतन्त्रताको महत्व स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।