काठमाडौँ । पूर्वमन्त्री सुदन किरातीले सुकुमबासी व्यवस्थापनको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुकुमबासीहरूको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू चरम निराशामा पुगेको र आत्महत्या जस्तो दुखद बाटो रोज्न बाध्य भएको बताएका हुन्।
किरातीले लोकतन्त्रमा जनताले सुकुमबासी व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी पाउनुपर्ने माग गरेका छन्। सुकुमबासी व्यवस्थापनलाई केवल प्रशासनिक कार्यका रूपमा मात्र हेर्न नहुने किरातीको तर्क छ।
उनले यसलाई सामाजिक न्याय, मानव अधिकार, नागरिकको आत्मसम्मान र दीर्घकालीन गरिबी उन्मुलनसँग जोडिएको संवेदनशील विषयका रूपमा व्याख्या गरेका छन्।
बस्तीहरूमा रहेका बालबालिका र वृद्धवृद्धाहरूको हृदयविदारक अवस्थाले आम नागरिकमा आक्रोश बढाउँदै लगेको भन्दै उनले सरकारलाई समयमै सचेत हुन आग्रह गरेका छन्।