काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।
सरकारले घटना भएको तीन दिनपछि शोक विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति औपचारिक रूपमा गहिरो दुःख व्यक्त गरेको हो।
साथै घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। सहसचिव हेमराज अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
