काठमाडौँ । सल्यानको कुपिण्डे नगरपालिका–११ सिस्नेपातलमा घरभित्र मृत अवस्थामा फेला परेका दुई दिदीबहिनीको घटनामा प्रहरीले हत्या आशंकामा उनकी आमा पूर्णिमा रानालाई नियन्त्रणमा लिएको छ।
बुधबार बिहान पूर्णिमाकी ६ महिनाकी र ३ वर्षीया छोरी घरभित्रै मृत भेटिएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका लागि आमालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घटनाका बेला आमा पूर्णिमा राना घरमै थिइन् भने बुवा टेकमान राना रोजगारीको सिलसिलामा नुवाकोटमा बस्दै आएका थिए। उनका अनुसार परिवारका अन्य सदस्य, जेठाजु, सासु र ससुरा पनि कामको सिलसिलामा नुवाकोट गएका थिए। घटना शंकास्पद देखिएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।