काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १९ स्थित विष्णुमती नदी किनार, कंकेश्वरी क्षेत्रमा २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर बुद्धको विशाल प्रस्तर मूर्ति स्थापना गरिएको छ । १५ फिट लामो सिंहशैय्यासन प्रस्तरको उक्त मूर्तिलाई वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले आज एक समारोहका बीच सार्वजनिक गर्नुभएको हो । करिब २८ लाख रुपियाँको लागतमा निर्माण गरिएको यो मूर्तिलाई ४ फिट अग्लो आसनमा राखिएको छ ।
महानगरले उक्त क्षेत्रलाई ’बुद्ध पार्क’ को रूपमा विकास गर्ने योजना अघि सारेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार यस पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाइनेछ भने यसको दीर्घकालीन व्यवस्थापन र संरक्षणको दायित्व स्थानीय समुदायलाई नै हस्तान्तरण गरिनेछ । निर्माणभन्दा पनि संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले पार्कको उपयोगमा स्थानीयले अपनत्व महसुस गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । वडाले भने अभिभावकको भूमिका निर्वाह गर्दै पार्कको संरक्षणमा सहयोग पु¥याउने नीति लिएको छ ।
मूर्ति सार्वजनिक गर्नुअघि स्थानीय बासिन्दाहरूले वडाका विभिन्न स्थानमा पवित्र अस्थिधातु यात्रा गरेका थिए । सो यात्रापश्चात् नमूना विहारमा भेला भई भक्तजनहरूले भगवान् बुद्धको विशेष पूजाआराधना समेत गरेका थिए । विष्णुमती किनारमा स्थापना गरिएको यो मूर्तिले त्यस क्षेत्रको धार्मिक र पर्यटकीय आकर्षण बढाउने अपेक्षा गरिएको छ ।