काठमाडौँ । दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ। विभिन्न स्थानबाट हटाइएका सुकुमवासी परिवारलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया सुरु गरिएको हो।
बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारलाई पाँच अलग(अलग स्थानमा राख्ने योजना बनाइएको छ। तत्कालका लागि धापाखेलस्थित टेवा कार्यालय, खरिपाटीको विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र तथा बनेपास्थित रेडक्रस भवनमा अस्थायी बसोबासको व्यवस्था गरिने बताइएको छ। हालसम्म ७२ जना सुकुमवासी स्वेच्छिक रूपमा रंगशालामा पुगेर आफ्नो विवरण दर्ता गराइसकेका छन्।
विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। यस कदमलाई तत्काल व्यवस्थापनतर्फको प्रयासका रूपमा हेरिए पनि दीर्घकालीन पुनर्वासको स्पष्ट योजना भने अझै सार्वजनिक नभएकाले सुकुमवासीहरूको भविष्यबारे थप चासो र बहस बढेको छ।