काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविर (एभरेष्ट बेसक्याम्प) मा “अल्ट्रा एक्स जेन २” नामक अमेरिकी कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि स्कट चार्ज पनि उपस्थित थिए। नेपाल न्यूज बैंकसँगको कुराकानीमा विशेष दूत गोरले यो ड्रोन सार्वजनिक गर्नु अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण भएको बताएका छन्। उनका अनुसार, नेपाल र अमेरिकाबीचको सहकार्यले हिमाली क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्नेछ, जसले भविष्यमा उद्धार तथा ढुवानी प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्नेछ।
उनले भने, “हामी सुन्दर नेपालमा, एभरेष्ट बेसक्याम्पमा छौँ। यहाँ हामीले अमेरिकी प्रविधिको उदाहरण प्रस्तुत गरेका छौँ। यो ड्रोनले सगरमाथा क्षेत्रमा सरसफाइ गर्न, आपतकालीन अवस्थामा अक्सिजन सिलिण्डर तथा आवश्यक सामग्री पुर्याउन र आरोहीहरूको उद्धारमा सहयोग गर्न सक्छ।” उनका अनुसार उक्त ड्रोन करिब ५ केजीसम्मको भार बोक्न सक्षम छ र यो फ्रिफ्लाई सिस्टम कम्पनीद्वारा निर्मित कार्गो ड्रोन हो। विशेषगरी छायांकनका लागि ठूला क्यामेरा बोक्न समेत यसको प्रयोग गर्न सकिन्छ। यसअघि नेपालमा एयर लिफ्ट नामक कम्पनीले ४० केजीसम्मको भार बोक्न सक्ने ड्रोन बेसक्याम्पदेखि क्याम्प–२ सम्म परीक्षण गरिसकेको छ। यद्यपि औपचारिक उद्घाटन भए पनि आवश्यक अनुमति प्रक्रिया पूरा नभएकाले हालसम्म ड्रोनको उडान परीक्षण सुरु हुन सकेको छैन। सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि मात्र यसको पूर्ण सञ्चालन हुने जनाइएको छ।