रुकुम (पूर्व) । रुकुम पूर्व अस्पतालले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र बिना अनुमति फोटो र भिडियो खिच्ने कार्यमा पूर्ण रोक लगाएको छ। पछिल्लो समय केही व्यक्तिहरूले अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरूको दृश्य खिच्ने, अन्तर्वार्ताका नाममा भिडभाड गर्ने र उपचारमा खटिएका चिकित्सकहरूको कार्यसम्पादनमा अवरोध पु¥याएको जनगुनासो आएपछि अस्पतालले यस्तो कडा कदम चालेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले जारी गरेको सूचनामा यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन् हुनुका साथै समग्र उपचार प्रक्रियामै गम्भीर असर परेको उल्लेख गरिएको छ।
अस्पतालले प्रचलित कानुनको स्मरण गराउँदै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता २०७४ को व्यवस्था विपरीत कार्य नगर्न चेतावनी दिएको छ。 ऐनअनुसार उपचारमा बाधा पु¥याउने, कर्मचारीलाई हातपात गर्ने, धम्की दिने वा अपमानजनक व्यवहार गर्नेलाई कानुनी कारबाहीको व्यवस्था छ。 साथै, मुलुकी अपराध संहिताको दफा २९५ ले अनुमति विना कसैको तस्बिर खिच्न नपाइने स्पष्ट पारेको छ। अस्पतालले सर्वसाधारण र सरोकारवालाहरूलाई पूर्व स्वीकृति विना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न र नखिचाउन अनुरोध गरेको छ।
विशेष गरी जिल्लास्थित पत्रकार र सञ्चारकर्मीहरूको हकमा भने बिरामीको गोपनीयता र संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पताल प्रशासनसँग अनिवार्य अनुमति लिएर मात्र सूचना प्रसारण गर्न आग्रह गरिएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खराकलले जारी गर्नुभएको सूचनामा कानुनको बर्खिलाप हुने गरी यस्ता कार्य गरे वा गराएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत जानकारी गराइएको छ।
