काठमाडौँ । आज २५७०औँ बुद्ध जयन्ती, सिद्धार्थ गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेको दिन। विश्वभरका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति श्रद्धा र भक्ति प्रकट गर्दै यो पर्व मनाइरहेका छन्। सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ र लुम्बिनी, स्वयम्भू तथा बौद्ध लगायतका क्षेत्रमा विविध कार्यक्रमहरू आयोजना गरिएका छन्।
बुद्ध जयन्तीका अवसरमा स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका विभिन्न गुम्बाहरूमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। स्वयम्भूस्थित आनन्द कुटी विहार मा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि राखिएकाले त्यहाँ दर्शनार्थीहरूको लामो लाम लागेको छ। बौद्धनाथ क्षेत्रमा पनि भक्तजनहरूले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन्।
उत्सव र उल्लासका बीच काठमाडौँको बल्खुमा भने एउटा अप्रिय र विरोधाभासपूर्ण घटना भएको छ। २०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख १८ गते शुक्रबार डोजर लगाएर भत्काइएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले उक्त संरचनामाथि डोजर चलाएको हो।
महानगरपालिकाले गुम्बा भत्काउनुअघि त्यहाँ रहेका बुद्धमूर्तिहरू र अन्य महत्त्वपूर्ण धार्मिक सामग्रीहरू भने सुरक्षित रूपमा बाहिर निकालेको थियो।
इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले विश्व शान्तिका लागि पु¥याउनुभएको योगदानको स्मरण गर्दै हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यो जयन्ती मनाइन्छ। “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो“ भन्ने बुद्धको सन्देश आजको सन्दर्भमा झन् बढी सान्दर्भिक देखिएको छ।