काठमाडौँ। बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर परिचालन गरी बस्ती खाली गराउने तयारीसँगै स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त देखिएका छन् ।
प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्ह १२ बजेसम्म बस्ती खाली गर्न निर्देशन दिएको थियो । सो समयसीमा नजिकिँदै जाँदा अधिकांश परिवारले स्वेच्छिक रूपमा आफ्नो बसोबास स्थान खाली गर्न थालेका छन् । स्थानीयवासीले भने सरकारले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । श्यामबहादुर सुनारले आफूहरूलाई स्पष्ट पुनर्वासको व्यवस्था नगरिकनै हटाउन खोजिएको गुनासो गरे ।
उनले सरकारले पहिले आश्वासन मात्र दिएको तर अहिले अचानक उठिबास लगाइएको महसुस भएको बताए । त्यस्तै अर्का स्थानीय राजकुमार पुरी भावुक हुँदै आफ्नो दैनिकी र जीविकोपार्जनमै समस्या परेको बताए । उनले सबै कागजात यही ठेगानामा रहेको उल्लेख गर्दै आफू वर्षौँदेखि यहीँ बस्दै आएको र जीविकाका लागि मजदुरीमा निर्भर रहेको बताए । स्थानीयवासीका अनुसार बस्ती हटाउने कार्यले उनीहरूको दैनिक जीवन प्रभावित भएको छ भने पुनर्वासको स्पष्ट योजना नआएकाले भविष्यप्रति अन्योलता बढेको छ ।