काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित बागमती नदी किनारका बासिन्दाले सम्भावित डोजरको कारबाहीबाट जोगिन आफ्नो घरको भित्तामा जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन्।
नदी किनारका अनधिकृत संरचना र सुकुम्बासी बस्तीहरू खाली गराउने अभियानका क्रममा डोजर बुद्धनगर क्षेत्रमा पुगेपछि स्थानीय घरधनीहरूमा त्रास फैलिएको हो। आफ्ना संरचनाहरू वैधानिक भए तापनि हुलमुलमा डोजर चल्न सक्ने र क्षति पुग्न सक्ने डरले घरधनीहरूले प्रमाणस्वरूप आफ्नो जग्गाको लालपूर्जा र स्वीकृत नक्सा घरअगाडिको भित्तामै प्रदर्शन गरेका हुन्।
विशेषगरी भत्काउने रेखा (लाइन) मै रहेका तर कानुनी कागजात भएका बासिन्दाहरूले यो अनौठो शैली अपनाएका हुन्। अहिले विभिन्न ठाउँमा सुकुम्बासी बस्तीहरू खाली गराउने कार्य भइरहेको र नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलेपछि लालपूर्जा भएका स्थानीयहरू समेत आफ्नो सम्पत्तिको सुरक्षालाई लिएर निकै त्रसित देखिएका छन्।
सरकारी निकायले अनधिकृत संरचना भत्काउन सक्रियता देखाएसँगै आफ्नो वैध घरलाई जोगाउन स्थानीयहरूले यो बाध्यकारी सुरक्षात्मक कदम चालेका हुन्।