सिरहा । रिंकुकुमारी प्रकरणमा अदालतले वडा सदस्यसहित १४ जनालाई कैद सजाय सुनाएको छ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युको घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ। मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले जनप्रतिनिधिसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।
अदालतले बलात्कारमा संलग्न व्यक्तिहरूलाई मात्र नभई यो जघन्य अपराधलाई लुकाउन गाउँमै ‘पञ्चायती’ बसेर मोलतोल गर्नेहरूलाई समेत कानुनी दायरामा ल्याएको छ। घटना लुकाउन मुख्य भूमिका खेल्ने वडा सदस्य नथुनी साहलाई ८ महिना सामान्य कैद र जनप्रतिनिधिको ओहदामा रहेर अपराधलाई प्रश्रय दिएको ठहर गर्दै थप ६ महिना गरी कुल १४ महिना कैद सजाय सुनाइएको छ।
घटना सामसुम पार्न संलग्न रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिताबमोजिम जनही ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
न्याय निरूपणका क्रममा अदालतले पीडित परिवारको पीडालाई मध्यनजर गर्दै क्षतिपूर्तिमा जोड दिएको छ। दोषी ठहरिएका प्रतिवादीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले पीडितको हकवालालाई क्षतिपूर्ति भराउन आदेश दिइएको छ। साथै, घटनामा प्रत्यक्ष संलग्न रहेका तीन जना नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ।
२०८१ साल माघ २७ गते राति शौच गर्न निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेका थिए। पीडितले यसबारे परिवारलाई जानकारी गराए पनि वडा सदस्य नथुनी साहको रोहवरमा माघ २९ र ३० गते दुई पटक गाउँमै पञ्चायती बस्यो। पञ्चायतीले १ लाख ५१ हजार रुपैयाँ जरिवाना तिराएर घटना प्रहरीसम्म पुग्न नदिने निर्णय गरेको थियो।
तर, जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि कुरा मिलेन। सोही दिन (माघ ३० गते) रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बाहिरबाट ढोका बन्द भएको अवस्थामा शव भेटिएकाले यसलाई आत्महत्या नभई हत्याको रूपमा सुरुदेखि नै शङ्कास्पद मानिएको थियो।