काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ ग्रहण गराएकी छन् । राष्ट्रियसभा गृहमा आयोजित ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख तथा न्यायिक समितिकी संयोजक डंगोलले मेलमिलाप प्रक्रियाबाट गुणस्तरीय परिणाम आउने अपेक्षा गरिएको बताइन् । उनले मेलमिलापका सत्रको संख्या मात्र महत्वपूर्ण नभई ती सत्रबाट कति विवाद समाधान भए भन्ने विषय नै वास्तविक उपलब्धि हुने स्पष्ट पारिन् । अभिमुखीकरण कार्यक्रममा पूर्व न्यायाधीश द्वारिकामान जोशीले अदालतसम्म पुगेपछि विवादको मूल विषय ओझेलमा पर्न सक्ने भएकाले स्थानीय तहबाटै समाधान गर्नु सबैभन्दा प्रभावकारी उपाय हुने बताए । उनले नागरिकले कानुनी व्यवस्था र त्यसको प्रयोगबारे जानकारी राख्नुपर्नेमा जोड दिए ।
अधिवक्ता पुनदेवी महर्जनले मानव अधिकार तथा महिला अधिकारसम्बन्धी कानुनी र संवैधानिक व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै स्थानीय प्रतिनिधिलाई समुदायभित्रका समस्या र मनोवृत्तिबारे नजिकबाट जानकारी हुने भएकाले स्थानीयस्तरको विवाद समाधान दिगो र प्रभावकारी हुने धारणा राखिन् । महानगरका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाबाट दुवै पक्षलाई न्यून क्षति र बढी लाभ हुने वातावरण बनाउनुपर्ने बताए । उनले वडास्तरबाट नागरिकलाई मेलमिलापको महत्वबारे नियमित रूपमा सचेत गराउन आवश्यक रहेको उल्लेख गरे । काठमाडौँ महानगरपालिकाले कानुनी व्यवस्था गर्दै न्यायिक विकेन्द्रीकरणमार्फत विवादसम्बन्धी निवेदन वडा कार्यालयमै दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । वडाबाटै निवेदन दर्ता, छलफल तथा मेलमिलाप प्रक्रिया अघि बढाइनेछ भने अन्तिम प्रमाणीकरणका लागि मात्र विषय केन्द्रमा पठाइने व्यवस्था रहेको महानगरले जनाएको छ ।