काठमाडौँ। वैशाख महिना सुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेको छ । सामान्य समयमा सुनसान देखिने धेरै स्थानहरू यतिबेला पर्यटकको भीडले भरिन थालेका छन् ।
विशेषगरी रारा ताल, शे–फोक्सुण्डो, कुपिण्डे दह, स्यार्पु ताललगायतका प्राकृतिक गन्तव्य पर्यटकको रोजाइमा परेका छन् । तराई क्षेत्रमा गर्मी बढेसँगै चिसो मौसमको आनन्द लिन धेरै पर्यटक कर्णालीतर्फ आकर्षित भएका हुन् । कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले ताल, काँक्रेविहार, देउती बज्यै मन्दिर, सहिद पार्क तथा घण्टाघर क्षेत्रसमेत आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेका छन् । बुलबुले तालमा बोटिङ गर्ने, घुमफिर गर्ने र फोटो खिचाउनेको दैनिक भीड लाग्ने गरेको छ । विद्यालय भर्ना अभियानका कारण पठनपाठन बन्द रहेकाले पनि पर्यटकीय स्थलहरूमा आगन्तुकको संख्या बढेको स्थानीय व्यवसायीहरू बताउँछन् ।
यसले पर्यटन क्षेत्रसँगै स्थानीय आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । बुलबुले तालमा पहिले दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म टिकट बिक्री हुने गरेकामा वैशाख यता दैनिक पाँच हजार रुपैयाँभन्दा बढीको टिकट बिक्री हुन थालेको छ । त्यहाँ प्रवेश शुल्क प्रतिव्यक्ति २० रुपैयाँ रहेको छ । काँक्रेविहार र सहिद पार्कमा पनि आगन्तुकको चाप बढेको छ । यता, रारा ताल, शे–फोक्सुण्डो ताललगायत दुर्गम गन्तव्यमा पुग्ने पर्यटकले प्राकृतिक सौन्दर्यबाट मोहित भए पनि सडक, यातायात, सञ्चार तथा पूर्वाधार अभावले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
काठमाडौँकी इलिजा तुलाधर पहिलो पटक डोल्पाको शे–फोक्सुण्डो पुग्दा निकै उत्साहित भइन् । उनले तालको सौन्दर्य अविस्मरणीय भए पनि त्यहाँ पुग्न टिकट र यात्रामा कठिनाइ भएको बताइन् । इलामका विजय तामाङले पहिलो पटक रारा ताल पुग्दा सुनेकोभन्दा अझ सुन्दर पाएको प्रतिक्रिया दिए । उनले रारा पुग्ने सडकको अवस्था कमजोर भएकाले सरकारले पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने सुझाव दिए । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा रारा तालमा १३ हजार ८ सय ८३ पर्यटक पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका छन् भने सार्क राष्ट्रबाट ६९ र अन्य देशबाट १३३ जना पर्यटक आएका छन् । पर्यटन पूर्वाधार सुधार, सडक स्तरोन्नति, सञ्चार सुविधा विस्तार तथा सेवा व्यवस्थापन गर्न सके कर्णालीका पर्यटकीय क्षेत्रले अझ ठूलो सम्भावना बोकेको सरोकारवालाहरूको भनाइ छ ।