काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले बुद्ध जयन्तीले गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
२५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै सभामुख अर्यालले यही विविधताभित्रको एकता र आपसी सद्भाव नै राष्ट्रिय शक्ति भएको बताए । उनले विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचार सम्पूर्ण मानवजातिका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै बुद्ध जयन्तीले अहिंसा, करुणा र प्रेमको सन्देश प्रवाह गरिरहेको बताए ।
बदलिँदो वर्तमान परिवेशमा बुद्धका शिक्षाले निराशा र अन्योलबाट बाहिर निस्कन धैर्य, संयम र सकारात्मक सोच अपनाउन प्रेरित गर्ने उनको भनाइ थियो । सभामुख अर्यालले समाजमा दिगो शान्ति, सुव्यवस्था र विकास कायम गर्न बुद्धका अष्टाङ्गिक मार्ग र पञ्चशीलको अनुसरण आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, बुद्धको करुणा र मैत्रीभावले मानव जीवनका संकट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । बुद्ध जयन्तीको अवसरमा उनले सम्पूर्ण नेपालीमा सुख, सुस्वास्थ्य, दीर्घायु, राष्ट्रिय स्वाभिमान तथा समृद्धिको कामना गर्दै बुद्धको आशीर्वादले सकारात्मक सोच, सहकार्य र लोककल्याणको भावना अभिवृद्धि होस् भन्ने शुभेच्छा व्यक्त गरे ।