काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले बङ्गलादेशको राजधानी ढाकामा ‘सुन्दर नेपाल’ नामक फोटो प्रदर्शनी सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल र बङ्गलादेशबीचको मित्रता तथा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
बिहीबार आयोजित कार्यक्रममा ढाका प्रदेशका सूचना मन्त्री यसरी खान चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने सहन हफिजले प्रदर्शनीको उद्घाटन गरेका थिए। एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटो पत्रकार टोली बङ्गलादेश फोटो पत्रकार संघको निमन्त्रणामा ढाका पुगेको हो। नेपाल र बङ्गलादेशबीचको ‘मित्रता र भाइचाराको २१ वर्ष’ को अवसरमा एनएफपिजे नेपाल र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसन (बीपीजेए)को संयुक्त आयोजनामा प्रदर्शनी सम्पन्न गरिएको हो।
प्रदर्शनीमा नेपालको हिमाल, पहाड, तराई, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा जनजीवन झल्काउने विविध तस्बिरहरू प्रदर्शन गरिएका थिए। प्रदर्शनी अवलोकन गरेका अतिथि तथा दर्शकहरूले नेपाली फोटो पत्रकारहरूको सिर्जनशीलता, दृष्टिकोण र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमले नेपाल–बङ्गलादेशबीच पत्रकारिता क्षेत्रको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै आगामी दिनमा सहकार्य, अनुभव आदान–प्रदान र संयुक्त कार्यक्रम सञ्चालनका लागि सकारात्मक आधार तयार भएको अध्यक्ष वन्तले बताए। दुवै देशका फोटो पत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले मित्रता, सांस्कृतिक आदान–प्रदान तथा व्यावसायिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।