हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले एक विशेष साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। चौबीसै घण्टा शान्ति सुरक्षामा खटिने प्रहरीको कार्यबोझ र तनाव कम गर्दै उनीहरूको आत्मबल बढाउन यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्षेत्रमा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मलाई मनोरञ्जन प्रदान गर्न आयोजित सो कार्यक्रममा प्रहरी कर्मचारीहरूले विभिन्न १३ वटा साङ्गीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रहरीहरूले लोकनृत्यका साथै देउडा समेत प्रस्तुत गरेका थिए। विशेषगरी महिला प्रहरीको कलात्मक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले प्रहरीभित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र समाजका प्रतिष्ठित व्यक्तित्वहरूसँग घुलमिल गराउन यो कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले प्रहरीद्वारा आयोजित यस्तो सांस्कृतिक कार्यको प्रशंसा गर्दै यसलाई सकारात्मक कदम रहेको बताए।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।