काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरतन श्रेष्ठ र बिदुर कोइरालाको संयुक्त इजलासले महतको स्वास्थ्य जाँच गरी प्रतिवेदन बुझाउन आदेश जारी गरेको हो।
डा. महतकी पत्नी रोशनी महतले आफ्नो पति ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ रोगबाट पीडित रहेको र विगत दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक समस्यामा रहेको भन्दै अदालतमा निवेदन पेस गरेकी थिईन् । सोही रोगका कारण महत अदालतमा उपस्थित भई प्रतिरक्षा गर्न असमर्थ रहेको उल्लेख गर्दै मुद्दा मुल्तवीमा राख्न माग गरिएको थियो।
अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १२८ बमोजिम चिकित्सकीय परीक्षण आवश्यक ठहर गरेको छ। आदेश अनुसार वीर अस्पतालको मेडिकल बोर्डबाट महतको स्वास्थ्य परीक्षण गराई प्रतिवेदन पेस गर्नुपर्नेछ। उक्त मेडिकल रिपोर्ट प्राप्त भएपछि मात्रै महतको हकमा मुद्दा मुल्तवीमा राख्ने वा प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा अन्तिम निर्णय हुने अदालतले जनाएको छ।