हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोटमा एक जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ। सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारमा डेंगु सङ्क्रमण देखिएको हो।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार तीन दिनअघि उपचारका लागि अस्पताल आएका सुनारको स्वाब परीक्षण गर्दा डेंगु पुष्टि भएको हो। हाल उनलाई जिल्ला अस्पताल सिमकोटमै भर्ना गरेर उपचार भइरहेको छ। चिकित्सक तिवारीले सङ्क्रमण पुष्टि भएकाले उनलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने जानकारी दिएका छन् ।
विशेष गरी जिल्ला बाहिर नगएका व्यक्तिमै डेंगु देखिएपछि स्वास्थ्यकर्मीहरूले यसलाई गम्भीरतापूर्वक लिएका छन्। पछिल्लो समय मौसममा आएको परिवर्तन र बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा समेत लामखुट्टे देखिन थालेकाले सङ्क्रमण फैलिएको हुनसक्ने चिकित्सक तिवारीको भनाइ छ।