काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थामा भएको आक्रमण र चोरी प्रयासको घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा स्थानीय ४२ वर्षीय अम्बिर ढकाल र ३९ वर्षीय पदमबहादुर भण्डारी रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू सहकारीमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेको र सो क्रममा सुरक्षागार्डमाथि आक्रमण भएको खुलेको प्रहरीले जनाएको छ। घटनाका क्रममा सुरक्षागार्ड छविलाल ढकाललाई फलामको रेन्ची प्रयोग गरी टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। उनी अहिले काठमाडौँस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा उपचाररत छन्। प्रहरीका अनुसार ६ वैशाखको राति भण्डारीले सहकारीको ताला फोडेर भवनभित्र प्रवेश गरेका थिए।
पैसा खोज्ने क्रममा केही नपाएपछि उनले सुरक्षागार्डलाई आक्रमण गरेको बताइएको छ। आक्रमणपछि उनीहरू घटनास्थलबाट फरार भएका थिए। घटना पछि अनुसन्धान अघि बढाउँदै प्रहरीले सीसीटीभी फुटेजको आधारमा खोजी कार्य थालेको थियो। फुटेजमा मास्क र रेनकोट लगाएर प्रवेश गरेको व्यक्ति देखिएपछि अनुसन्धानले थप गति लिएको हो। सोही आधारमा संकलित प्रमाण र सूचनाका आधारमा प्रहरीले १३ वैशाखमा चितवन र नवलपरासी क्षेत्रबाट दुवै जनालाई पक्राउ गर्न सफल भएको हो। हाल पक्राउ परेका व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योग र चोरी उद्योग सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।