जनकपुरधाम । उचित बासस्थानको व्यवस्था नगरी घर भत्काइएको विरोधमा सुकुम्वासीहरूले मधेश प्रदेश सरकारको मुख्य गेट (मधेश भवन) मा धर्ना दिएका छन्। बिहीबार जनकपुरमा भेला भएका सुकुम्वासीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
आन्दोलनकारीहरूले मधेश प्रदेश सरकारका मन्त्रालयहरू, मुख्यमन्त्री तथा मन्त्रीहरूको निवास रहेको परिसर घेराउ गरी धर्ना दिएका छन्। उनीहरूले “पहिले पुनर्वास, त्यसपछि मात्र हटाउने“ मुख्य माग राखेका छन्। उचित विकल्प नदिई उठिबास लगाउन खोजिएको भन्दै उनीहरू आक्रोशित बनेका हुन्।
धनुषामा रहेको ‘गुठी कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समिति’ गठन गरेर सुकुम्वासीहरू लामो समयदेखि आन्दोलनरत रहेका छन्। उनीहरूले संघ र प्रदेश दुवै सरकारसँग पुनर्वाससहितको व्यवस्थित बसोबासको ग्यारेन्टी गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा सरकारले सुकुम्वासीलाई बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले प्रधानमन्त्री वालेन्द्र साहको राजीनामा समेत माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ।