काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–५, नहरको डिलस्थित एउटा झुपडीमा १९ वर्षीय विजय यादव विगत नौ महिनादेखि गम्भीर रोगसँग जुधिरहेका छन्। गरिबी र उपचारको अभावका कारण उनी ओछ्यानमै थलिएका छन् र दिनप्रतिदिन कमजोर बन्दै गएका छन्।
विजयको शरीर अत्यधिक दुब्लाएर हड्डी मात्र देखिने अवस्थामा पुगेको छ। हिँडडुल गर्न त परको कुरा, उनी आफैं उठ्नसमेत नसक्ने अवस्थामा पुगेका छन्। सुरुमा पेट दुख्ने समस्याबाट सुरु भएको रोगको कारण अहिलेसम्म यकिन हुन सकेको छैन। परिवारले चन्द्रपुर आसपासका विभिन्न अस्पतालमा उपचार गराए पनि रोग पत्ता नलाग्दा अवस्था झन् जटिल बन्दै गएको छ। आर्थिक अभावका कारण ठूला तथा सुविधा सम्पन्न अस्पतालमा लैजान नसकिएको परिवारको भनाइ छ।ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका बाबु जयराम यादवले छोराको उपचारका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। समयमै उचित उपचार पाउन सके विजयको जीवन जोगिन सक्ने भए पनि गरिबीका कारण उनी उपचारबाट वञ्चित हुन बाध्य छन्।