काठमाडौँ। अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनबाट रमेश भण्डारी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। उर्लाबारीमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सङ्गिता कार्की, सचिवमा विजय धिमाल र कोषाध्यक्षमा देव राई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा लक्ष्मीकुमार तामाङ, विवेक हिङमाङ र मनिता विश्वकर्मा रहेका छन्। कार्यक्रम मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, अनलाइन टिभी पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष किशोर श्रेष्ठ, कोशी प्रदेश सचिव सरोज बस्नेत, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक नवीन ओलीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले अनलाइन पत्रकारिता वर्तमान समयको प्रभावकारी सञ्चार माध्यम बनेको बताए। उनले तथ्य, सत्य र प्रमाणमा आधारित निष्पक्ष पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गरे। उनले प्रविधिको विकाससँगै पत्रकारिताको जिम्मेवारी पनि बढ्दै गएको बताउँदै अनलाइन मिडियाले समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेल्नुपर्नेमा जोड दिए। साथै, संघको नयाँ नेतृत्वले पत्रकारहरूको हकहित संरक्षण गर्दै व्यावसायिक र मर्यादित पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।