काठमाडौँ। नेपाल सरकारअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयमा धितो बन्धकी सेवा अनलाइनमार्फत अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। सेवा प्रवाहलाई छिटो, सहज, पारदर्शी र बिचौलियारहित बनाउन यो व्यवस्था लागू गर्न लागिएको हो।
अब बैंक तथा वित्तीय संस्थाले गर्ने धितो रोक्का तथा फुकुवासम्बन्धी सम्पूर्ण काम डिजिटल प्रणालीमार्फत फेसलेस र निश्चित समयसीमाभित्र सम्पन्न गर्नुपर्नेछ। विभागले जारी गरेको परिपत्रअनुसार यो प्रणाली दुई चरणमा लागू गरिनेछ। विभागसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेका तथा भू–सेवा केन्द्रको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाका लागि बुधबारदेखि नै अनलाइन प्रणाली अनिवार्य गरिएको छ।
त्यस्तै, हालसम्म अनुमति नलिएका वा प्रक्रिया पूरा गरिरहेका अन्य बैंक तथा वित्तीय संस्थालाई आवश्यक तयारी सकेर २०८१ जेठ १ गतेदेखि अनिवार्य रूपमा यो सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ। विभागका अनुसार यो व्यवस्था पाम प्रणाली लागू भएका देशभरका सबै मालपोत कार्यालयमा कार्यान्वयन हुनेछ। यसबाट सेवाग्राहीले कार्यालयमा पटक–पटक धाउनुपर्ने झन्झट हट्ने, सेवा प्रणालीमा पारदर्शिता बढ्ने तथा सुशासन कायम हुने अपेक्षा गरिएको छ।