काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सियारी गाउँपालिकामा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार रुपन्देहीको साविक मैनहिया गा.वि.स. (हाल सियारी गाउँपालिका वडा नं. २) का मृतक बेलर कहारको नाममा रहेको २–०–५ बिघा जग्गा जालसाजी गरी नामसारी गरिएको अनुसन्धानबाट खुलेको छ।
मृतक बेलर कहारको वास्तविक हकवाला छोरी सन्जु कहारको हक मेटाउने उद्देश्यले बुद्धिराम कहारलाई नक्कली भाइ खडा गरिएको थियो। कर्मचारी र जनप्रतिनिधिको आपसी मिलेमतोमा फर्जी नाता प्रमाणित, सर्जमीन मुचुल्का, चारकिल्ला प्रमाणित र सिफारिस जस्ता कागजातहरू तयार पारी जग्गा नामसारी गरिएको आयोगले जनाएको छ। जिल्ला अदालत रुपन्देहीले समेत ती कागजातहरू फर्जी रहेको ठहर गरिसकेको अवस्थामा मालपोतका कर्मचारीहरूले सरकारी अभिलेखमा विवरण हेरफेर गरी गलत स्रेस्ता र पूर्जा जारी गरेको पुष्टि भएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै अख्तियारमा मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू र तत्कालीन वडा सदस्य वृजनारायण यादवविरुद्ध मुद्धा दायर गरेको हो । त्यस्तै, नक्कली हकवाला बुद्धिराम कहारलाई मुख्य कसुरदार सरह सजायको मागदाबी गरिएका अख्तियारले जनाएको छ ।
आयोगले आज (२०८३ वैशाख १६ गते) विशेष अदालत, काठमाडौंमा यो आरोपपत्र दायर गरेको हो। प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिवादीहरूले सरकारी सार्वजनिक संस्थाको अभिलेखमा झुट्टा विवरण थपघट गरी प्रविष्ट गराउने जस्ता गम्भीर कसुर गरेको पाइएको छ।