काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे उठिरहेका टिकाटिप्पणीका विषयमा पार्टीको धारणा स्पष्ट पारेका छन्। बुधबार बसेको संसदीय दलको बैठकमा उनले सांसदहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
लामिछानेले विगतमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्ति सच्याउन अहिलेको अध्यादेश ल्याइएको बताए। जनताले वर्तमान सरकारसँग राखेको अपेक्षा पूरा गर्न यस्ता कमजोरी सुधार्न आवश्यक रहेको उनको भनाइ थियो। उनले पहिले अध्यादेश दल विभाजन गर्न वा विपक्षीलाई थुन्न प्रयोग हुने गरेको उल्लेख गर्दै अहिलेको अध्यादेश त्यस्तो उद्देश्यका लागि नभएको स्पष्ट पारे। उनका अनुसार यो कसैलाई दुःख दिन वा कसैलाई सुविधा पुर्याउन नभई आवश्यक सुधारका लागि ल्याइएको कदम हो।
लामिछानेले यो प्रक्रिया कानुनी दायराभित्र रहेर अघि बढाइएको बताए। साथै कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर रहेको पनि उनले उल्लेख गरे। उनले विगतमा प्रधानमन्त्रीकै दलका सांसद सार्वजनिक लेखा समितिको नेतृत्वमा पुगेका उदाहरण रहेको स्मरण गराउँदै आफ्नो पार्टीले त्यस्ता अभ्यास सच्याउन प्रयास गरेको दाबी गरे।