काठमाडौँ । नेपालमा मातृमृत्युका करिब ५ प्रतिशत घटना असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्य सार्वजनिक भएको छ। साथै आधुनिक गर्भनिरोधक साधनको प्रयोगदर बढ्नुको सट्टा घट्दै गएको पनि सरोकारवालाले बताएका छन्।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले काठमाडौंमा आयोजना गरेको ‘परिवार योजना र रणनीतिक मार्ग’ कार्यक्रममा प्रजनन स्वास्थ्य अधिकार समूहका संयोजक तथा अधिवक्ता नवीनकुमार श्रेष्ठले निःशुल्क तथा सहज रूपमा साधन उपलब्ध नहुँदा प्रयोगदर घटेको बताए। उनका अनुसार अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, दुर्गम क्षेत्रका बासिन्दा तथा बसाइँसराइ गरेर सहर आएका समुदायमा परिवार योजना सेवाको पहुँच अझै कमजोर छ। निजी तथा गैरसरकारी संस्थाबाट दिइने सेवा घट्नु, लगानी कमी हुनु, गुणस्तर कमजोर हुनु तथा जनचेतनाको अभावले पनि समस्या बढाएको उनले बताए। श्रेष्ठका अनुसार विगतमा गर्भनिरोधक साधनको प्रयोगदर र प्रजनन स्वास्थ्यमा सुधार देखिए पनि हाल नयाँ चुनौती थपिएका छन्।
सन् २००६ सम्म आधुनिक साधनको प्रयोगदर ४४ प्रतिशत पुगेको थियो भने कुल प्रजनन दर ६.१ बाट घटेर ३.१ मा झरेको थियो। हाल जनसंख्या वृद्धि घट्नुको मुख्य कारण गर्भनिरोधक साधनको प्रयोग नभई बसाइँसराइ, ढिलो विवाह, एक सन्तानको योजना तथा वैदेशिक रोजगारी रहेको पनि कार्यक्रममा उल्लेख गरिएको छ। परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहालले दातृ संस्थाको सहयोग घट्दै जाँदा कार्यक्रम प्रभावित भएको बताइन्। उनका अनुसार परिवार योजना सामग्री खरिदका लागि पर्याप्त बजेट नहुँदा कण्डम तथा महिलाका अस्थायी साधनको अभाव समेत देखिएको छ। उनले परिवार योजना तथा प्रजनन स्वास्थ्यलाई पुनः प्राथमिकतामा राखेर बजेट, नेतृत्व र स्रोत व्यवस्थापन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याइन्।