काठमाडौँ । गौर भन्सारले लक्ष्यअघि नै ९८ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ। रौतहटस्थित गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको निर्धारित लक्ष्य समयभन्दा अगावै पूरा गर्ने अवस्थामा पुगेको जनाएको छ।
आर्थिक वर्ष सकिन अझै साढे दुई महिना बाँकी रहँदा कार्यालयले लक्ष्यको ९८.५१ प्रतिशत राजस्व उठाइसकेको हो। कार्यालयको वार्षिक राजस्व लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा वैशाख १३ गतेसम्म ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ संकलन भएको प्रमुख भन्सार अधिकृत विकासकुमार रजकले जानकारी दिए। उनका अनुसार सीमाक्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण, राजस्व चुहावट रोक्न अपनाइएका उपाय तथा कडाइका कारण यस्तो सफलता हासिल भएको हो।
अनिवार्य भन्सार नियमको प्रभावले सरकारी राजस्वमा सकारात्मक योगदान पुगेको उनले बताए। अघिल्ला वर्षहरूमा लक्ष्य भेटाउन कठिनाइ हुने गरे पनि यस वर्ष भन्सार प्रशासनले कडा नीति अवलम्बन गरेपछि उपलब्धि उत्साहजनक देखिएको छ। भारतबाट आयात हुने वस्तुमा विशेष निगरानी राखिएको छ। एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ। यस कडाइसँगै अवैध आयात घटेको र स्थानीय बजारमा व्यापारिक गतिविधि बढेको समेत जनाइएको छ।