सुनसरी । धरानमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। सोमबार राति धरान उपमहानगरपालिका–१३ लक्ष्मी सडकस्थित मण्डला क्याफेमा अनलाइन जुवा (वानएक्सबेट) खेल्दै र खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा धरान–१३ बस्ने ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ र ४० वर्षीय विवेक थापा रहेका छन्। त्यसैगरी, धरान–१ बस्ने ३३ वर्षीय सुजित साह, धरान–१६ बस्ने ४१ वर्षीय अशोक लिम्बु, धरान–१५ बस्ने ३५ वर्षीय भवानी दाहाल र धरान–१७ बस्ने ३१ वर्षीय प्रज्जवल राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात फेला पारेको थियो। प्रहरीले उनीहरूको साथबाट अनलाइन जुवामा प्रयोग भएका १५ थान मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।