काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई बेवास्ता गरेको आरोप लगाएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
थापाले प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा उक्त कार्यक्रम गरेका थिए। उनले सरकारसँग बहुमत भएको संसद्प्रति नै विश्वास नभएको जस्तो देखिएको बताए। उनका अनुसार संसद्को मिति तोकेर आह्वान भइसकेपछि पनि बिना सूचना बैठक स्थगित गर्नु सरकारको गैरजिम्मेवारीपन हो। उनले संसद् छलेर अध्यादेश ल्याउने प्रयासप्रति पनि असन्तुष्टि जनाउँदै नागरिकलाई जानकारी नै नदिने प्रवृत्ति गलत भएको बताए।
थापाले सांसदहरूको अनुरोधमा बैठक स्थगित गरिएको भन्ने भनाइलाई पनि भ्रामक र गलत प्रचार भएको भन्दै सरकारलाई ‘ढाँटेको र हेपेको’ आरोप लगाए। संवैधानिक परिषद् र नियुक्तिको विषयमा बोल्दै उनले विगतदेखि नै राजनीतिक चलखेल भइरहेको उल्लेख गरे। उनले प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी रूपमा अघि बढ्ने प्रयास भइरहेको आरोप पनि लगाए। थापाले शासकीय सुधारमा सहयोग गर्न तयार रहेको तर संसद् र अन्य दललाई पेल्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए। निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि उनी पहिलो पटक मतदातालाई धन्यवाद दिन र स्थानीय अवस्था बुझ्न त्यस क्षेत्रमा पुगेका हुन्।